पूर्वमन्त्री खड्काको कम्पनीले ओगेटको नेपाल स्काउटको जग्गाको भाडा वापतको बक्यौता बुझाउन सात दिने सूचना

पूर्वमन्त्री खड्काको कम्पनीले ओगेटको नेपाल स्काउटको जग्गाको भाडा वापतको बक्यौता बुझाउन सात दिने सूचना

नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडावापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको छ। उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको हो। उनको स्वामित्वमा रहेको उक्त कम्पनीले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएको छैन। खाली गर्न पटकपटक ताकेता गर्दा अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको हो।

लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाड्न मानेको छैन।

सम्झौता पत्र अनुसारको अवधि समाप्त नभएको भन्दै कम्पनीले बखेडा झिकेपछि विवाद सिर्जना भएको थियो।

अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भएपछि कम्पनी काठमाडौं जिल्ला र पाटन उच्च अदालत गएको थियो
‘२०७९ असार १३ गते उच्च अदालत पाटनले फिराद खारेज हुने गरी पुनरावेदक प्रतिवादीको नाममा जारी भएको मिति २०७६ असार १८ गतेको सुरु काठमाडौँ जिल्ला अदालतको आदेश नमिलेकाले बदर भई प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्छ भनी अन्तिम फैसला भई सो उपर विपक्षीको पुनरावेदन नलाग्ने ठहर भएको थियो,’ स्काउटले बताएको छ।