निर्वाचन आयोगमा १५ वटा नयाँ दल दर्ताको निवेदन
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ ।
जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । चुनाव घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीदेखि जेनजी आन्दोलनका अगुवाहरु समेतले दल दर्ताको निवेदन दिएका छन् । प्रक्रिया पुग्नेहरुको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगमा यसअघि एक सय २२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई एक सय २४ दल पुगेका छन् । दलहरुसँग छलफल सहित चुनावको तयारी तीब्र बनाएको आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ । बजेटको अन्तिम टुंगो हुन भने बाँकी छ ।



थर्ड पोल 