निर्वाचनको अघिल्लो दिन र भोलिपल्ट पनि बिदा दिन सरकारलाई सिफारिस
नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिन समेत सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्मा नेतृत्वको अध्ययनले निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा सोको उपयोग गरी धेरै नागरिकहरू आफ्नो नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन पाउने उल्लेख गरेको छ। त्यसका लागि मन्त्रिपरिषदको निर्णयमार्फत् आवश्यक नीतिगत प्रबन्ध गरी निर्वाचन प्रयोजनार्थ कम्तीमा तीन दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले सिफारिस गरेको छ।
त्यस्तै, निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरू (म्यादी प्रहरी समेत), निजामती कर्मचारी, शिक्षक सहितका सबै कर्मचारीहरूलाई आफू खटिएकै निर्वाचन केन्द्र/बुथबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतदान प्रक्रियामा सहभागी गराउने गत निर्वाचनको अभ्यासलाई परिष्कृत, सरल र सहज बनाउन ऐनमै (मतदाता नियमावली ऐन, २०७३ को दफा ३०) व्यवस्थित गर्न सुझाव दिएको छ। साथै उनीहरूलाई परिचय-पत्रका आधारमा मतदानमा सहभागी हुन पाउने लचिलो व्यवस्था गर्न पनि अध्ययनले सुझाव दिएको छ।
प्रतिष्ठानले केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यो प्रतिवेदन बुझाइसकेको छ।



थर्ड पोल 