नेपाल–भारत ऊर्जा बैठक : नेपालले बिजुली निर्यात गर्न सक्ने क्षमता विस्तार

नेपाल–भारत ऊर्जा बैठक : नेपालले बिजुली निर्यात गर्न सक्ने क्षमता विस्तार

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औँ बैठक कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) का प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा दुई देशबिचको विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा विभिन्न सहमितहरु पनि भएका छन् । 

बैठकका मुख्य सहमतिहरू निम्न छन् :

निर्यात क्षमतामा वृद्धि : ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी लाइनमार्फत विद्युत् आदानप्रदान क्षमताको पुनर्मूल्याङ्कन गरिएको छ । जसअनुसार नेपालले अब नेपालबाट १,५०० मेगावाटसम्म विद्युत् निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।

चमेलिया–जौलजिवी प्रसारण लाइन : २२० केभीको यो प्रसारण लाइनको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ। दुवै देशले यो लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनेछन्।

नयाँ बुटवल–गोरखपुर लाइन : ४०० केभीको नयाँ बुटवल–गोरखपुर लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ। यसबाट आयात(निर्यात क्षमता निर्धारण गर्न उत्तर प्रदेश ट्रान्समिसन कम्पनीसँग १५ दिनभित्र थप बैठक बस्नेछ।

निजगढ–मोतिहारी लाइन : ४०० केभी डबल सर्किट लाइनको डीपीआर तयारीका लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र त्यसपछि संयुक्त डीपीआर तयार गर्ने सहमति भएको छ।