दीपक बोहरालाई सहमहामन्त्री बनाउने प्रस्तावमा जब तोसिमा र क्रान्तिशिखाले जनाए आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा दीपक बोहराको नाम प्रस्ताव गरिएपछि केन्द्रीय सदस्यद्वय डा. तोसिमा कार्की र क्रान्तिशिखा धितालले आपत्ति जनाएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बोहरालाई सहमहामन्त्री मनोनीत गर्ने प्रस्ताव अघि सारेका थिए।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बुर्लाकोटीलाई उक्त प्रस्ताव एजेन्डाका रूपमा अघि सार्न अनुमति दिएका थिए।
सांसद सुमना श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको सहमहामन्त्री पदमा बोहरालाई मनोनीत गर्न उक्त एजेन्डा अघि बढाइएको हो। तर केन्द्रीय सदस्यद्वय कार्की र धितालले असहमति जनाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।
‘दीपक बोहरा यसअघि पार्टीको सहकोषाध्यक्ष हुनुहुन्थ्यो। हाम्रो पार्टीमा यसअघि दुई जना सहकोषाध्यक्ष रहेकामा पछि एक जना मात्रै राख्ने भनेर बसुमाया तामाङलाई कायम राखियो। निर्वाचन आयोगलाई पनि जानकारी गराइयो। त्यसपछि दीपक बोहरा सचिवालय सदस्य मात्रै रहनुभएको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीले आजको बैठकमा उहाँलाई सहमहामन्त्री बनाउने प्रस्ताव अघि सार्नुभएको थियो। त्यसमा केन्द्रीय सदस्य तोसिमा कार्की र क्रान्तिशिखा धितालले असहमति राख्नुभएको हो,’ उनले भने।



थर्ड पोल 