थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै
कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गछृन् ।
“बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो”, उनले भने, “बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।”
बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताए । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए।
“पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे”, उनले भने, “थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।”



थर्ड पोल 