जोरपाटीमा दुर्घटनाः दुई जना पैदलयात्रीलाई ठक्कर दिएर दुइटा पोलको बीचमा छिरेको थियो कार

जोरपाटीमा दुर्घटनाः दुई जना पैदलयात्रीलाई ठक्कर दिएर दुइटा पोलको बीचमा छिरेको थियो कार

काठमाडौंको जोरपाटीमा दुर्घटना भएको कारले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको खुलेको छ।

गोकर्णेश्वर नगरपालिका-६ स्थित गोकर्णेश्वरबाट छहारी क्लब जाँदै गरेको बा १९ च ७७२४ नम्बरको कारले बिहान ६:५५ बजे सडकपेटीमा हिँडिरहेका दुई जनालाई ठक्कर दिएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन्।

आफै अनियन्त्रित भएको कारले काभ्रे घर भइ हाल गोकर्णेश्वर बस्ने ६२ वर्षीय परशुराम पराजुली र ३४ वर्षीया सरिता केसीलाई ठक्कर दिएको थियो।

परशुराम धान बोकेर मिलतर्फ जाँदै गरेको अवस्थामा कारले ठक्कर दिएको थियो। 

उनी गभ्मीर घाइते छन्। उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

सरिता सामान्य घाइते भएकी छन्। उनको उपचार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

कार गोकर्णेश्वर नगरपालिकास्थित माकलबारी बस्ने ५१ वर्षीय कृष्णप्रसाद पाण्डेले चलाएका थिए।

अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिएपछि उक्त कार बिजुलीको दुइटा पोलको बीचमा छिरेर अड्किएको छ।