कुसुम महर्जनको नाम समानुपातिकको सूचीबाट हटाउने रास्वपा निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय सदस्य कुसुम महर्जनको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले महर्जनले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउन दिएको निवेदन स्वीकृत गर्ने र निर्वाचन आयोगलाई यसबारे लेखिपठाउने निर्णय गरेको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
महर्जन कात्तिक १७ गते रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेकी छन्।
समानुपातिकको सूचीमा भएको व्यक्ति प्रत्यक्षतर्फको उम्मेदवारीको आन्तरिक प्रतिस्पर्धामा भाग लिन नपाउने भएकाले उनले नाम फिर्ता लिएको रास्वपाका एक सदस्यले बताए।
सहमहामन्त्री आचार्यका अनुसार रूपन्देही–३ को उम्मेदवारीका लागि आकांक्षीहरूले आवेदन दिने समय बुधबार अपराह्न ५ बजे सकिँदैछ। उनले त्यसपछि मात्रै कति जनाको आवेदन पर्यो भनेर भन्न सकिने बताए। त्यसपछि उम्मेदवारी छनोटको प्रक्रिया सुरू हुनेछ।
केन्द्रीय सदस्य महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताइन्। समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध छ।



थर्ड पोल 