उपसभामुखविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव राख्ने तयारीमा कांग्रेस र एमाले

उपसभामुखविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव राख्ने तयारीमा कांग्रेस र एमाले

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन्।

एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने नेपाली कांग्रेसका सांसदहरूलाई पनि 'दिउँसो २ बजेभित्र संसदीय दल कार्यालय आउनू' भनिएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ, जहाँ उपसभामुखलाई पदबाट हटाउनेबारे छलफलकेन्द्रित छ।

सोमबार साँझपख प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित दुवै दलका शीर्ष नेताहरू बालुवाटारमा कुराकानी गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले उपसभामुखले आचरण अनुकूल काम नगरेको पाइएकोले हटाउनुपर्ने कुरा राखेको र त्यसमा सभापति देउवाले सहमति जनाएको कांग्रेसका एक नेताले जानकारी दिए।