अनिल झाले किन छाडे लोसपा?

अनिल झाले किन छाडे लोसपा?

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले लोसपा छाडेका छन्।

उनले वरिष्ठ नेता र लोसपा साधारण सदस्यसमेतबाट राजीनामा दिएका हुन्। उनले पदबाट राजीनामा दिएको केही समय भए पनि यो खबर मंगलबार चर्चामा आएको हो।

सेतोपाटीसँग कुराकानी गर्दै अनिलकुमार झाले आफूले लोसपा छाडेको बताए।

‘मैले वरिष्ठ नेताबाट मात्र होइन, लोसपाको साधारण सदस्यतासमेत छाडिसकेको छु,’ उनले भने, ‘मैले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ, यो अलि पहिलाकै कुरा हो तर आज कसले बाहिर ल्याइदियो, चर्चा भइराखेको छ।’

हामीले झालाई लोसपा छाड्नुको कारण पनि सोध्यौं। उनले पहिलेदेखि नै लोसपामा बस्न मन नलागेको अवस्था रहेको बताए।

‘लोसपामा पहिलेदेखि नै बस्न मन लागेको थिएन,’ उनले भने। त्यसैले झा पछिल्लो समय लोसपाको सक्रिय राजनीतिबाट टाढा थिए।

अब राजनीति नै गर्ने कि अरू केही भन्ने प्रश्नमा झाको जबाफ छ, ‘म पुरानो मधेसवादी नेतामा पर्छु, राजनीति त गर्छु।’