सुरक्षा समितिको बैठकद्धारा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

सुरक्षा समितिको बैठकद्धारा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’पारित गरेको हो। 

‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ। निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्‍याउँछ।’

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए। बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ।

 बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए। भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा बताएका थिए।