विवेकशील साझाले काठमाडौंको मेयर र उपमेयर दुवैमा महिलालाई उम्मेदवार बनाउने

विवेकशील साझाले काठमाडौंको मेयर र उपमेयर दुवैमा महिलालाई उम्मेदवार बनाउने

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा समीक्षा बाँस्कोटा र उपप्रमुख पदमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उनीहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

साझा पार्टीले प्रेस विज्ञप्ति नै जारी गरेर  काठमाडौं महानगर दुई इमानदार, सक्षम, परिपक्व महिलालाई जिम्मा लगाउन आह्वान गरेको छ।  बाँस्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व-संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बाँस्कोटाले काठमाडौं स्कुल अफ ल बाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्। उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्।उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्।

शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा छिन्। दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रवक्ता पाठकले बताए।