शरणार्थीको मुद्दाले कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ–शेखर कोइराला सारा सम्स्त
काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिनुले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको गरिमामा आँच आएको बताएका छन्। आज काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने पनि बताएका हुँन् । नेता कोइरालाले भने, ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, नेपाली कांग्रेस पार्टीको परिस्थिति पनि गम्भीर छ। हाम्रै साथीहरू नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ। त्यसले नेपाली कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ। राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नु हुँदैन।
यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै यो मुद्दा चलिरहेको छैन। नेपाली प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन। कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ।’ उनले देशको अर्थतन्त्र दयनीय रहेको बताएका छन् । उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको पनि बताएका छन् ।
थर्ड पोल 