काठमाण्डौं उपत्यकामा फैलियो बर्ड फ्लुको सङ्क्रमण 

काठमाण्डौं उपत्यकामा फैलियो बर्ड फ्लुको सङ्क्रमण 

काठमाण्डौं उपत्यकामा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौं उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो । बर्ड फ्लुका कारण ६ जिल्लामा गरी तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । प्रदेशमा माघ १६ गतेदेखि सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण देखिएका ठाउँमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमुना सङ्कलन र निगरानी भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए। उनले किसानलाई सतर्क रहन आग्रह गरेका छन् । साथै क्षति बेहोरेका किसानलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको पनि उनले बताए ।

वाग्मतीका ६ जिल्ला बाहेक मोरङ, सुनसरी, उदयपुर, कास्की, पर्सालगायतका जिल्लामा पनि बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।