ओलीबाट टिका लगाएर एमाले प्रवेश गरेको भोलिपल्ट प्रचण्डसँग भेटेर डल्लाकोटीले दिए यस्तो बयान
एमाले प्रवेश गरेको भोलिपल्टै माओवादी केन्द्रमै फर्किएका बेनिघाट रोराङ गाउँपालिकामा निर्वाचित पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको लागि डल्लाकोटी खुमलटार पुगेका हुन्।
खुमलटार पुगेर प्रचण्डसँग केही मान्छेको परिबन्दमा परेर बालकोट पुगको बताएका छन्। डल्लाकोटीले प्रचण्डसँग भनेको भनाइको उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष ज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो। तर, मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु।’
आफूलाई जिताउने कार्यकर्ताको चर्को दबावको कारणले आफ्नै घर फर्किएको बताएका छन्। प्रचण्डले उनलाई आत्मालोचनासहित पार्टीमै फर्केपछि अब पार्टीको काममा फर्किन निर्देशन दिएका छन्। ‘तपाईंले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस्’ उनलाई प्रचण्डले निर्देशनसहित भने।
