एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिने विषयमा मन्त्रिपरिषद गम्भीर रहेको छ- सञ्चार मन्त्रि शर्मा 

1.

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । 

आज राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले  सङ्घीय निजामती ऐन संसद्मा पेस हुने अन्तिम चरणमा पुगेको बताएकी  हुन्।  

"सङ्घीय निजामती ऐनमा सरकोकारवालसँग छलफल भएको छ । यो सरकारको अत्यन्त प्राथमिकताको विषय हो, करिब अन्तिम अवस्थामा छ", उनले भनिन्, "सङ्घीय मामिला मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगको छ । अन्तिम चरणमा छ । मन्त्रिपरिषद्मा आउने बित्तिकै सङ्घीय संसद्मा प्रस्तुत गर्ने तयारीमा छौँ ।"

राष्ट्रिय गौरवका आयोजनाको काम सुरु हुने तर कामको अन्त्य नहुने, एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिने विषयमा मन्त्रिपरिषद गम्भीर ढङ्गबाट छलफल भएको समेत उनले जानकारी दिइन्। उनको अनुसार सार्वजनिक खरिद ऐन संशोधन गर्नेतर्फ सरकारको ध्यान गएको छ । 

उनले भनिन्, ''खरिद ऐनमा भएका समस्याका कारण पनि आयोजना निर्माण तथा आयोजनाको गुणस्तरमा समस्या आएको छ । सरकारले यसलाई गम्भीर ध्यान दिएको छ। ''

यस्तै संसद् आफैँमा सरकारको निगरानी गर्ने थलो भएको जनाउँदै मन्त्रि शर्माले सरकारलाई सही ‘ट्र्याक’मा हिँडाउन संसद्ले भूमिका निर्वाह गरिरहेको बताइन् । सबै समितिले वार्षिक प्रतिवेदन बनाएर सरकार र अलगअलग मन्त्रालयसँग छलफल गर्दा उचित हुने उनको भनाइ छ । "समितिका प्रतिवेदनलाई सरकारले सकारात्मक ढङ्गबाट लिएको छ । कमीकमजोरी अन्त्य गरेर अगाडि बढिनेछ” उनले भनिन्।