ओलीको प्रतिवेदन: अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह

ओलीको प्रतिवेदन: अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रहको रूपमा हुन गइरहेकाले जसरी पनि जित्नै पर्ने बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा उनले यो निर्वाचन सहज अवस्थामा नभइरहेको बताए ।

तराई–मधेशमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने बताउँदै उनले पार्टी प्रवेशको प्रवत्ति उल्लेखनीय भएको उल्लेख गरे । एमालेविरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएकाले यसअघिको निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको अध्यक्ष ओलीले बताए ।

सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले)मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले बताए । बैठकमा सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । उनीहरूले सबै प्रदेशमा एमालेको पकड बलियो रहेकाले पार्टी फुटको असर नपरेको पनि बताएका छन् ।