सिन्धुलीमा बन्दकर्ताकाे आक्रमणमा परी ११ जना प्रहरी घाइते
अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुको आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्। प्रहरी र बन्दकर्ताबीचको बुधबार भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-२ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियो ।
घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।
सडक अवरुद्ध गरेका स्थानीयलाई हटाउन गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । दोहोरो झडपका क्रममा सडकमा रोकिएका केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा दिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको छ ।
