गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष ओली थरथरी कामेका छन्ः रामचन्द्र पौडेल

गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष ओली थरथरी कामेका छन्ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन् । आज नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताए । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनले बताए । 

वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताए । लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उनले स्पष्ट पारे । उनले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताए । 

उनले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताए । उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताए ।