रुसको पक्षबाट लड्दा ३० जना उत्तर कोरियाली सैनिकहरू मारिए – अमेरिका

रुसको पक्षबाट लड्दा ३० जना उत्तर कोरियाली सैनिकहरू मारिए – अमेरिका

काठमाडौं । रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी सेनासँग लड्दा उत्तर कोरियाली सैनिकको मृत्यु भएको अमेरिकाले जनाएको छ ।अमेरिकी रक्षा मुख्यालय पेन्टागनका प्रवक्ता प्याट राइडरले सोमबार पत्रकारहरूसँग भने, “अमेरिकाको विश्वास छ कि उत्तर कोरियाली सैनिकहरू रसियाली सेनासँग कुर्स्कमा युद्ध लडिरहेका छन्। यसमा उनीहरूका सैनिकहरू घाइते हुनुका साथै मारिएका छन्। ”

अक्टोबरमा, उत्तर कोरियाले रूसको कुर्स्क सीमा क्षेत्र कब्जा गरेको युक्रेनी सेना विरुद्ध लड्न आफ्नो सेना पठाएको थियो। उत्तर कोरियाले आफ्ना १० हजार सैनिक रुस पठाएको र रुसमा आफ्ना सैनिकको मृत्यु भएको यो पहिलो रिपोर्ट हुनेछ ।

युक्रेनको सैन्य खुफिया एजेन्सी ‘गुर’ ले गत हप्तामा कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको दाबी गरेको छ ।रसियामा लड्न गएका उत्तर कोरियाली सैनिकलाई कुनै पनि युद्धमा भाग लिने अनुभव छैन । रुस पुगेपछि उनीहरुलाई सुरुमा तालिम दिएर सहयोगी कर्मचारीको रुपमा काममा लगाइएको बताइएको छ ।