काठमाडौंको मेयरमा केशव स्थापित र सिर्जना सिंहबीच प्रतिष्पर्धा !
स्थानीय निर्वाचन नजिकिएसँगै दलहरु उम्मेद्वार चयनमा जुटेका छन् । देशभरको नजर परेको संघीय राजधानी काठमाडौं एमाले र सत्ता गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ । नेकपा एमालेले भने केशव स्थापितलाई उठाउने भएको छ।
२०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धनको चुनौती चिर्ने गरी एमालेले टिकट दिने तयारी गरेको हो। स्थापितलाई काठमाडौं उठाउने औपचारिक निर्णय एमाले आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकबाट गर्नेछ।
काठमाडौंको प्रमुखका लागि एमाले नगर कमिटीले २ वैशाखमा ५ जनाको नाम सिफारिस गरिसकेको छ। नगर कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको थियो।
यी ५ मध्येमा प्रमुखका लागि सबैभन्दा हेविवेट स्थापित नै हुन्। गठबन्धनको चुनौती चिर्न सक्ने सबैभन्दा बलिया मानिएका स्थापितलाई काठमाडौंको उम्मेदवार बनाउने सहमति भइसकेको एमाले उच्च स्रोतले बताएको छ।
यता काँग्रेसले महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
