पतिको कुटाइबाट पत्नीको ज्यान गयो
मोरङको जहदा गाउँपालिका–७ की एक महिलाको पतिको कुटाइबाट मृत्यु भएको छ। जहदा–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा पत्नी ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
उनका अनुसार नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको छ।कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए।
मादक पदार्थ सेवनपछि विवाद उत्पन्न भएपछि घटना भएको प्रहरीले जनाएको छ। पत्नीको हत्यामा संलग्न नारायण फरार छन्। उनको खोजी भइरहेको र घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए।
