गठबन्धनबीच भइरहेको बाँडफाँटप्रति माधव नेपाल असन्तुष्ट, दिए यस्तो चेतावनी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष नेपालले ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरूलाई उत्साही नबनाएको पनि स्पष्ट पारे । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भए पनि जिल्लाको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ छ ।
'पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादीरउत्साही हुने स्थिति छैन,' उनले भने।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेसनकै बेला विद्रोही उमेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाए । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट ‘पछारिएको’ उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए ।
