माओवादी केन्द्रले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक नगर्ने

माओवादी केन्द्रले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक नगर्ने

स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले घोषणापत्र वा प्रतिवद्धतापत्र नबनाउने भएको छ। माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो। त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणापत्र बनाउने माओवादीले जनाएको छ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणापत्र बनाउने बताए। स्थानीयस्तरबाटै घोषणापत्र बनाउन माओवादीले स्थानीय कमिटीलाई अधिकार दिएको हो।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन्। ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ।