मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकार गम्भीर देखिएन : नेता पौडेल

मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकार गम्भीर देखिएन : नेता पौडेल


काठमाडौं । अर्बौं रुपैयाँ खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकार गम्भीर नदेखिएको नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन् । उनले सरकारले चाहेमा अस्थायीरूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको बताए । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन् ।

‘मेलम्चीको पानी कहिले आउँछ भनेर काठमाडौंले पर्खिरहेको छ । सरकारले आउँछ, बनाउँदैछौँ भनिरहेको छ । तर काठमाडौँबासीले पानी खान पाएका छैनन् । पहिले केही समय पानी पुगेको हो । अहिले लामो समयदेखि पानी खाने अवस्था बनेको छैन,’ सांसद पौडेलले न्यूज बैंकसँग भने, ‘अहिले तत्काल अस्थायी समाधान गर्नकालागि गाह्रो देखिदैन । सुरूङमा बाढीले त्यस्तो धेरै फोहोर जम्मा गरेको अवस्था पनि होइन । थोरै प्रयास गर्दामात्रै पनि पानी लैजान सकिने अवस्था छ । अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा सरकार थोरै गम्भीर हुनुपर्छ ।’

काठमाडौं–५ बाट निर्वाचित सांसद पौडेलले काठमाडौंबासीलाई तत्कालै पानीको प्यास मेटाउने गरी आयोजनाको अघि बढाउन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ध्यानाकर्षण गराउने बताए ।