भक्तपुरमा बिस्के जात्राको रौनक 

1.

आज भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा बिहान देखि सुरु भएको छ। आज बिहान ५  बजेदेखि  तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । 

सोमबार उक्त स्थानमा सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले बताए । उनले भने, “पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्‍याउने लक्ष्य छ ।”

यस अघि अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ । 

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु गरिने प्रचलन रहेको छ। कार्यालयकी प्रमुख खिमा वलीको अनुसार रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न मिल्दैन।  

यस्तै आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुने जनाइएको छ। आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको वालेले बताए।