भरतपुरमा केही समस्या हुँदैन, रेणु नै मेयरको उम्मेद्वार हुन्छिन्ः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका बीचमा स्थानीय निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आजै साँझसम्ममा खाका तयार हुने बताए। 'आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ,' प्रचण्डले भने।
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए।
प्रचण्डको उत्तर थियो, 'केही समस्या हुँदैन, सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ।' भरतपुरमा माओवादीले प्रचण्डपुत्री रेणु दाहाललाई नै दोहोर्याउने तयारी गरिरहेको छ। कांग्रेस चितवनले भने यसको विरोध गरिरहेको छ।
