प्रधानमन्त्री र राष्ट्रपतिले दिए शहीद दिवसको शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।
शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने छन् ।”
शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् । उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान ब्यक्त गरेका छन् ।
सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूको बलिदानीबाटै वर्तमान संविधान र सर्वोत्कृष्ट शासन व्यवस्था प्राप्त भएको बताएका छन् । शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले शहीदहरूको बलिदानीकै आधारमा नेपालीले आफ्नो संविधान आफैँ बनाउन सफल भएको बताएका हुन् ।
‘
जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं । संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु ।’राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना राष्ट्रियताको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘आज शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको विशेष सम्झाना गर्ने दिने हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नोे जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सम्बद्ध सबैलाई नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’
थर्ड पोल 