प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले दिए तमु ल्होसारको शुभकामना

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले दिए तमु ल्होसारको शुभकामना


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तमु ल्होसारको शुभकामना दिँदै देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । आज तमु ल्होसारका अवसरमा शुभकामना दिँदै दाहालले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताएका छन् । 

‘देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको दाहालले उल्लेख गरेका छन् । 

नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको बताएका दाहालले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताएका छन् । यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँने दाहालको विस्वास छ ।  

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायले सांस्कृतिक परम्पराको संरक्षण,प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालको आर्थिक र सामाजिक रूपमान्तरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

‘तमु ल्होसार’का अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् । 

राष्ट्रपति पौडेलले गुरुङ समुदायले देशको सामाजिक आर्थिक क्षेत्रको रुपान्तरणमा खेलेको भूमिकका प्रशंसनीय भएको उल्लेख गरेका छन् । ‘नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ’, राष्ट्रपति पौडेलले भनेका छन् । 

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।