नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनु पर्छः मन्त्री भण्डारी

नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनु पर्छः मन्त्री भण्डारी

काठमाडौं, १४ जेठ । नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले बताएका छन् । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकापर्ण गर्दै उनले प्रचुर सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताए ।

“नेपालका पर्यकीय सम्भावना बोकेका क्षेत्रमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्नसके मात्र बाह्य पर्यटक बढ्ने भएकाले आन्तरिक पर्यटक प्रवर्द्धनमा सबै लाग्नुपर्छ”, मन्त्री भण्डारीले भने । उनले आफू पर्यटनमन्त्री भएका बेलामा तराई पर्यटकको अवधारणा अगाडि सारेको स्मरण गरेका छन् । “नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन व्यवसायी नै लाग्नुपर्छ, सरकारले आवश्यक सहजीकरण गर्नुपर्छ”, उनले भने । आफ्नो विज्ञता नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य पशुपतिशम्शेर जबराले आफूले घुमेका संसारका मुलुकमध्ये उत्कृष्ट मुलुक नेपाल भएकाले यसलाई विश्वमाझ चिनाउन जरुरी रहेको बताए । “हिमालको हिउँदेखि तराईका फाँटसम्म नेपालमा छन्, संसारका अन्य मुलुकमा यस्तो देख्न पाइँदैन”, उनले भने ।

नेता जबराले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा विज्ञापन गर्नुपर्ने उल्लेख गरेका छन् । पर्यटनको अथाह सम्भावना बोकेको नेपाल पर्यटकका लागि सुन्दर मुलुक भएको उनको भनाइ थियो ।