कारको ठक्करबाट तीन जनाको मृत्यु

कारको ठक्करबाट तीन जनाको मृत्यु

कारको ठक्करबाट नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ। बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए।

समिना र कसिम एकै घरका हुन् भने अली छिमेकी हुन्। रोजा चलिरहेकोले उनीहरू प्रार्थनाका लागि जाँदै गरेको अनुमान प्रहरीको छ। प्रदेश ३-०१-२३ च ८४८१ नम्करको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो। पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। 

ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले कार चालकले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा देखिएको बताए।