दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी काठमाडौंमा ल्याउँछौँ : मेलम्ची विकास समिति
काठमाडौं । काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ । सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेका थिए । विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौंमा झर्ने बताएका छन् ।
वर्षामा आएको बाढीका कारण गएको ८ असारदेखि मेलम्चीको पानी काठमाडौं झरेको छैन । मर्मत र सरसफाईकालागि कामको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम समेत अघि बढाएको छैन । त्यहीकारण काठमाडौंका स्थानीयबासीले आन्दोलन थालेपछि आयोजनाले २८ दिनमा काम सम्पन्न गर्ने र त्यसपछि काठमाडौंमा पानी आउने प्रतिवद्धता जनाएको हो ।
प्रवक्ता पन्तले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको विकास समितिको बोर्ड बैठकले निर्माण व्यवसायीसँग समझदारी बनाएको र हस्ताक्षर समेत गरिसकेको भन्दै अब २८ दिनमा आयोजनाको तत्कालै गर्नुपर्ने काम सम्पन्न हुने र पानी आउने बताए ।
‘तत्काल निर्माण व्यवसायीलाई साईटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ । निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ,’ उनले भने, ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साईटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार जनशक्ति परिचालन गरी पानी पथान्तरणको काम हुनेछ ।’पथान्तरणपछि मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध हुने समितिले जनाएको छ ।
थर्ड पोल 