तत्काल एमालेसँग तालमेलको सम्भावना छैन: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल प्रमुख प्रतिपक्षी दल एमालेसँग तालमेल हुने सम्भावना नभएको बताएका छन्। बुटबलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमालेसँगको तालमेल अहिले सम्भव नभएपनि कांग्रेसको व्यवहारमा भर पर्ने बताएका हुन्।
‘अहिले हामी गठबन्धनमा छौं, पाँच दलको। सरकार पनि त्यसैगरी चलिरहेको छ त्यसकारण तत्काल एमालेसँग गठबन्धन हुने या तालमेल हुने सम्भावना हामीले देखेका छैन।’ प्रचण्डले भने, ‘तर यो एक हदसम्म नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्छ। राजनीतिमा असम्भव केही हुँदैन।’
उनले एमसीसी पास हुनु अगाडि ओलीसँग भेट हुँदा अपमान गरिएको स्मरण गरे। उनले देश अफ्ठ्यारोमा पर्यो, निकास दिनुपर्यो भनेर जाँदा सभामुखलाई कारबाही गर्न र नेकपा कालको १९ पृष्ठ लामो आरोप खारेज गरेर आउन आग्रह गरेपछि किन आइएछ कुरा गर्न भन्ने बनाएको सुनाए।
उनले कांग्रेसका केही नेताले माओवादीसँग गठबन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेको समेत बताए। उनले भने, 'तर प्रधानमन्त्री देउवा यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहनु भएको छ।' उनले माओवादीले आफ्नै तागत र एजेण्डाको बलमा जनताको मन जितेर चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकता रहेको उल्लेख गरे। प्रचण्डले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गरे।
