ट्रम्प कर नीतिको असरः ५ सय अर्ब डलर लगानी गर्ने एप्पलको घोषणा

ट्रम्प कर नीतिको असरः ५ सय अर्ब डलर लगानी गर्ने एप्पलको घोषणा


काठमाडौं । एप्पलले आगामी चार वर्षमा अमेरिकामा थप सेवा विस्तार गर्न ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। यस कदमले उसलाई चीनबाट आयात गरिने सामानहरूमा नयाँ करबाट जोगिन मद्दत गर्न सक्ने विश्वास लिइएको छ ।

यो लगानीले २० हजार नयाँ रोजगारी सिर्जना गर्ने एप्पलले जनाएको छ । यो महिनाको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । एप्पलले आईफोन चीनबाट आयात गर्छ । ट्रम्पले शुक्रबार एप्पलले लगानी गर्ने योजना बनाएको संकेत गरेका छन् । उनले बिहीबार एप्पलका सीईओ टिम कुकसँगको भेटपछि यस्तो योजनाको संकेत गरेका हुन् । आफ्नो कर नीतिका कारण यस्तो अवस्था बनेको ट्रम्पले दाबी गरेका छन् ।

‘उनी ९कुक० सयौं अर्ब डलर लगानी गर्दैछन्, मलाई आशा छ कि उनले यसको घोषणा गरिसकेका छन्,’ ट्रम्पले भने, ‘त्यसैले म उनलाई धन्यवाद दिन चाहन्छु । साथै अन्य धेरै कम्पनीहरू पनि आउँदैछन्, धेरै चिप निर्माता र कार निर्माता कम्पनीहरू अमेरिका प्रवेश गर्दै छन् ।’

महामारीका बेला चीनमा उत्पादन सम्बन्धी समस्याहरू देखिएपछि एप्पलले पछिल्ला वर्ष चीनबाहिर आपूर्ति श्रृंखला विस्तार गर्न लगानी गरेको थियो । यी लगानीहरूमा टेक्सासमा म्याक प्रो कम्प्युटर उत्पादन गर्न बनाइएको प्लान्ट पनि समावेश छ।

एप्पलका लागि चिप उत्पादन गर्ने कम्पनी टिएसएमसीले पनि एरिजोनामा चिप बनाउने कारखाना खोल्न लागेको छ । यो योजना राष्ट्रपति जो बाइडेनको प्रशासनले पारित गरेको द्विदलीय विधेयक अन्तर्गत ६।६ अर्ब डलरको सहयोगबाट सम्भव भएको हो । तर, एप्पलले भारत र भियतनाम जस्ता स्थानहरूमा उत्पादन विस्तार गर्न बढी जोड दिएको छ ।

‘हामी अमेरिकी नवप्रवर्तनको भविष्यमा विश्वास गर्छौं र हाम्रो देशको भविष्यका लागि ५०० अर्ब डलरको यो प्रतिबद्धतासँगै अमेरिकामा लगानी बढाउन गर्व गर्छौं,’ एप्पलका सीईओ टिम कुकले कम्पनीको विज्ञप्तिमा भने ।