भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण श्रेष्ठ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् भने व्रत सुरू भएदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने मान्यता रहेको छ । जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नून समेत नखाने चलन छ ।
जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भनेर बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेडिदिने गर्दछन् । एक महिना अघिदेखि तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेने गरिन्छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ ।
यसैगरी बिस्कास् जात्राकै त्रममा आजै थिमिमा सिन्दुर जात्रा पनि मनाइँंदैछ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाउने चलन छ ।
