संसद विघटन सही थियो भन्न मिल्दैनः एमाले नेता भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नुसरह भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग भुसालले संसद् विघटन ठिक निर्णय नभएको बताएका हुन् । उनले भने, 'अब पनि संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जिम्मेबार पार्टी नेकपा एमालेबाट यस्तो काम गर्नुहुँदैन । जुन काम हामी गर्दैनौं ।'
'केहि राजनीतिक कारण छन् । त्यो राजनीतिक कारण भनेको पुस ५ मा गरिएको संसद् विघटन । त्यो एउटा राजनीतिक मुद्दा हो । जहाँ हामी विभाजित छौं । यो कुरा स्वयम् अदालतले संवैधानिक बेञ्चले यो विषयमा निर्णय गरिसकेको छ । र अब यो संविधान रहेसम्म संसद् विघटन गर्न मिल्दैन । सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भन्ने हो भने यो संविधान भत्किन सुरु गर्छ । '
कम्युनिष्ट पार्टीको विभाजनले हालसम्मको उपलब्धिलाई रक्षा गर्ने नसकेको उनले बताए। कम्युनिष्ट पार्टीमा एमाले ठूलो भएकाले वाम एकताको पहल गर्नुपर्ने उनको भनाई छ। नेता भुसालले भने, ‘एमाले कम्युनिष्ट पार्टीको मुल प्रवाह हो। त्यसैले एमालेले वाम एकताको प्रतिनिधित्व गर्नुपर्छ। स्थानीय तहको चुनाव वामहरुको पक्षमा ल्याउनका लागि एक हुनुपर्छ। वाम एक ठाउँ उभिँदा हुने र तीनतिर हुनुमा आउने मतमा धेरै फरक पर्छ।’
