एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी : कांग्रेस
नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ ।
सर्वोच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसको भनाइ छ । घोषणापत्रको १२ औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसै गरी नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् ।
