काठमाडौं महानगरद्वारा दश अर्ब २५ करोड राजस्व संकलन

काठमाडौं महानगरद्वारा दश अर्ब २५ करोड राजस्व संकलन

काठमाडौं, २४ साउन । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९–०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव २०७८–०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी रु एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका छन् । कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

जसमा सबैभन्दा बढी बहाल करमा रु दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको छ । त्यस्तै नक्शापास दस्तुरबाट रु १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव २०७८–०७९ मा जम्मा रु चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९–०८० मा रु पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५–१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

गत आवमा बाँडफाँटबाट कामपाले रु एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने, अघिल्लो वर्षको तुलनामा रु एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब रु ५५ करोड प्राप्त गरेको थियो ।”