कांग्रेससँगको गठबन्धन फुटाउन प्रचण्डले भूराजनीतिक खेल खेले : शेखर कोइराला

कांग्रेससँगको गठबन्धन फुटाउन प्रचण्डले भूराजनीतिक खेल खेले : शेखर कोइराला

काठमाडौं ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए । दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको कोइरालाले दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गरेका कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ –टीआरसी विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाएको बताएका छन् ।

उनले त्यो बाहेक भुराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।‘कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । कांग्रेस अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संघसंस्थाको न्यूनतम मापदण्डलाई लिएर अघि बढ्छ । पीडितमैत्री विधेयक बन्नुपर्ने कांग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आए भनेपनि त्यो ऐन लागु हुन सक्दैन’, कोइरालाले चेतावनी दिए ।