आज दशैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिंदै 

आज दशैं नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिंदै 

काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।

दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ । यसैगरी चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।