आज दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्दै हमास
काठमाडौं । हमासले आज दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र चार वर्षका एरियल पनि समावेश हुनेछन् ।
उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो ।
हमास समूहका वार्ताकार खालिल अल–हय्याले आउँदो शनिबार थप छ जना जिवितै बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा, इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ । यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।
हमासले नोभेम्बर २०२३ मा इजरायली हवाई आक्रमणमा उनीहरू मारिएको दाबी गरेको थियो, तर कुनै प्रमाण प्रस्तुत गरेको थिएन । इजरायली सेनाले पनि यसबारे कुनै पुष्टि गरेको छैन । एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।
थर्ड पोल 