अधिकारको मात्र होइन सबैले आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्छ : अध्यक्ष तिमल्सिना
काठमाडौं । अधिकारको मात्र होइन सबैले आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताएका छन् । उनले अरुको अधिकार हनन भयो कि भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सबै तह र जिम्मेवारीमा रहेकाहरुले अधिकार मात्र होइन कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताएका हुन् ।
‘हामीले आफ्नो अधिकार प्राप्तिका लागि धेरै ठूला संघर्ष गर्यौं, अहिले पनि अधिकारकै कुरा गरिरहेका छौं तर कर्तव्य कहाँ छ ?’ अध्यक्ष तिमल्सिनाले भने, ‘त्यसकारण अब अरुको बारेमा कुरा गरौं । आफ्नो होइन अरुको अधिकार हनन भयो कि भनेर ध्यान दिऔं र आफ्नो कर्तव्य आफ्नो सोचौं ।’
नयाँ पुस्ताले नेताहरुको व्यवहारमा ध्यान दिने भन्दै उनले भने, ‘पार्टीका नेताहरुले इतिहासमा त्याग गरेको भनेर अबको पुस्ताले हेदैनन् । अब के गर्छन् भनेर हेर्छन् । इतिहासमा त्याग गरेका नेताहरु अब जे बोले पनि, जे गरे पनि हुन्छ भन्ने कुरा अबको पुस्ताले मान्दैन । त्यसकारण बोल्दा सक्ने कुरा मात्र बोलौं । बोलेको कुरा गरौं । त्यति गर्दा सुशासन प्रवर्द्धन र सन्तुलित विकास गर्ने कुरामा अघि बढ्न सकिन्छ ।’
बजेट पेस गर्दा सदनमा आवाज उठ्छ भनेर सबैतिर अलिअलि देखाउने अनि पछि विस्तारै गएर सकभर कार्यान्वयन नै नगराउने चलन राम्रो नभएको उनले बताए ।‘असार मसान्तमा हामीले बजेट पास गर्यौं तर आजसम्म संघीय सरकारका योजना बजेट विनियोजन गरेको ठाउँमा टेण्डर भएको छैन अनि कसरी हुन्छ रु’ अध्यक्ष तिमिल्सिनाले भने, ‘देखाउनका लागि बजेट ल्याउने अनि खर्च गर्ने बेलामा आफ्नो खुसीले सारेर अन्त लाने प्रवृत्ति भएर योजना आयोगले नीतिगत हिसाबले बनाएको कुरालाई अर्थ मन्त्रालयले आफ्नो ढङ्गले काँटछाँट गर्ने ? नीतिगत एउटा व्यवस्था गरेपछि त्यसमा अडिन सक्नुपर्छ ।’
थर्ड पोल 