हावाहुरीबाट मधेस प्रदेश प्रभावितः सिरहामा पर्खाल भत्किँदा एक जनाको मृत्यु
काठमाडौं । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो ।
जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । चोटका कारण उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।
गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको प्रहरीले जनएको छ ।
थर्ड पोल 