माओवादीलाई भरतपुर नै चाहिन्छ, रेणु नभई नहुने भन्ने छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुले अडान नराखेको बताएका छन्। ६ वटा महानगरपालिकामा माओवादीले एउटा पाउने भन्दै सहमतिका आधारमा जुनसुकै दिए पनि लिने उनको भनाइ छ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै दाहालले भने, ‘माओवादीलाई भरतपुर नै नभई नहुने र रेणु नै नभई भन्ने कुनै अडान छैन। ६ वटामा एउटा एउटा त माओवादीले पाउला। काठमाडौं दिए पनि हुन्छ। विराटनगर दिए हुन्छ। भरतपुर नदिए पनि ठिकै छ,’ उनले भने।
दाहालले पहिले जितेको हुनाले भरतपुर दिए सजिलो हुन्थ्यो भन्ने आफूहरुको चाहना रहेको बताए। ‘एउटाले सबै लिने कुरा पनि भएन। एउटा त माओवादीले पाउने भयो। धेरै साथीहरु र कांग्रेसभित्र पनि भरतपुर माओवादीलाई नै दिनुपर्छ कुरा आएको छ। सहमतिकै आधारमा हामी अघि बढ्छौं,’ उनले भने।
उनले गठबन्धनमा चुनावी तालमेल हुन नसकेका ठाउँमा गठबन्धनभित्रका दलहरुबीच जो सँग सहमति हुन्छ त्यसैसँग तालमेल हुने बताए।
