पोखरामा कांग्रेस कार्यालयमा तोडफोड, २३ जना पक्राउ

पोखरामा कांग्रेस कार्यालयमा तोडफोड, २३ जना पक्राउ

कांग्रेस कार्यकर्ताले आफ्नै पार्टी कार्यालय तोडफोड गरेका छन् । बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।  

पोखरा महानगरपालिकामा ३३ वडा बाँडफाँटको छलफल चलिरहेको छ । कुन वडा कसले पाउने निर्णय भैसकेको छैन । केन्द्रको निर्देशनपछि अहिले  बाँडफाँटको विषय चलेको हो । छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोशित कांग्रेस कार्यकर्ता नाराबाजी र तोडफोडमा उत्रेका हुन् ।

बिहीबार पाँचदलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का काङ्ग्रेस कार्यकर्ताले नाराबाजी र तालाबन्दी गरे । पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक भयो । आक्रोशित कार्यकर्ता त्यसपछि प्रदेश पार्टी कार्यालय तेर्सापट्टी पुगे ।

त्यहाँ पुगेर उनीहरुले पार्टी कार्यालयको सचिवालय देखि कार्यालयका फर्निचर, सभापति शुक्रराज शर्माको कुर्सी समेत फोडेका छन् । कार्यालयको सिसा फुटेको काङ्ग्रेस गण्डकी प्रदेश कार्यालयका प्रवक्ता माधव बास्तोला (मधु) ले जानकारी दिए ।