मान्छेका हड्डीसहित भारतीय नागरिक पक्राउ

मान्छेका हड्डीसहित भारतीय  नागरिक पक्राउ

विराटनगरबाट मानव अंगसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला थियो ।

सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको बताए । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १र१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८र८ वटा बरामद भएको उनले बताए ।

पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए । ‘एमबीबीएस अध्ययन गर्दा अग्रज साथीबाट लिएको थिएँ,’ उनको भनाइ उधृत गर्दै प्रहरीले भन्यो, ‘अरुसँग पनि छ ।’

नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।