संसद् विघटन गलत थियो भनेर नबोल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

संसद् विघटन गलत थियो भनेर नबोल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् । बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् ।

“यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला,” ओलीले भने, “प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।”

उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गरे ।